बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मौसममा दोहोरो वायुको प्रभाव, विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

सोमबार, असोज १९ २०८३

काठमाडौँ । देशमा हाल मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहे पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार सोमबार देशका विभिन्न भू–भागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भाग तथा देशका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ ।

दिउँसो तथा रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने तथा ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।