काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ। पाँच दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चमा मञ्च निर्माण तथा सजावटको काम अन्तिम चरणमा पुगेको छ।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुने कांग्रेसले जनाएको छ। असोज १८ देखि २२ गतेसम्म चल्ने महाधिवेशनमा देश तथा विदेशबाट सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका छन् भने केही आउने क्रम जारी छ। प्रतिनिधिका लागि राजधानीका विभिन्न होटलमा बसोबासको व्यवस्था मिलाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। असोज १९ गते उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ भने असोज २१ र २२ गते निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका कांग्रेसले बनाएको छ।
महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्नेछन्। उपसभापति, महामन्त्री र कोषाध्यक्षले पनि आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
निर्वाचन खुलामञ्चसँगै राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा–प्रतिष्ठानमा गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत सहभागी हुने अपेक्षा गरिएको छ।
कांग्रेसले भारत, चीन, अमेरिका लगायतका मुलुकका राजनीतिक दल तथा विदेशी पाहुनालाई समेत निमन्त्रणा गरेको छ। सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। अन्य मुलुकका राजनीतिक दलका प्रतिनिधि तथा शुभकामना सन्देशसमेत प्राप्त भएको कांग्रेसले जनाएको छ।
महाधिवेशनका लागि खुलामञ्चमा मुख्य मञ्चसँगै बन्दसत्र सञ्चालन गर्न तीनवटा हल तयार पारिएको छ। सञ्चारकर्मीका लागि मिडिया सेन्टर, स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क तथा प्रतिनिधिका लागि भोजनको व्यवस्था भृकुटीमण्डपमा गरिएको भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले जानकारी दिए।
महाधिवेशनमा आउने प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको कांग्रेस केन्द्रीय सदस्य तथा महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले बताए।
उनका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको एकतर्फी सडक तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ। पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि थप पार्किङको व्यवस्था मिलाउन ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनले बताए।
यसपटकको महाधिवेशनको नारा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरिएको छ। महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक तथा नीतिगत दिशासमेत तय गर्नेछ।