बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जनमत पार्टीको नयाँ नेतृत्व आज टुंगो लाग्ने

आइतबार, असोज १८ २०८३

वीरगञ्ज । जनमत पार्टीको नयाँ केन्द्रीय नेतृत्व आज टुंगो लाग्ने भएको छ। पर्साको वीरगञ्जमा जारी पार्टीको महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको मतदानको मतगणना शनिबार रातिदेखि सुरु भएको छ।

पार्टीका पर्सा अध्यक्ष तथा महाधिवेशन व्यवस्थापन समितिका संयोजक ओमप्रकाश सर्राफका अनुसार शनिबार राति ९ बजेदेखि मतगणना सुरु गरिएको हो।

महाधिवेशनबाट २६ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुँदैछ। अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ। उहाँ निर्विरोध हुने भए पनि पार्टीको विधानअनुसार अध्यक्षका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने भएकाले राउतका लागि पनि मतदान गरिएको हो।

सात उपाध्यक्ष पदका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ। महासचिवमा तीन जना, उपमहासचिवमा दुई जना तथा सात सचिव पदका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

त्यस्तै, ७३ जना उम्मेदवार कार्यकारिणी सदस्यका लागि प्रतिस्पर्धामा छन्। महाधिवेशनमा १ हजार १५५ प्रतिनिधिले मतदान गरेका थिए।

महाधिवेशनको उद्घाटन समारोह पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा भएको थियो। शहीद परिवारको प्रतिनिधित्व गर्दै राधा यादवलाई प्रमुख अतिथि बनाइएको थियो।