बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रचण्ड–बाबुरामले ज्ञानेन्द्रसँग सहकार्य प्रस्ताव गरेको कमल थापाको दाबी

आइतबार, असोज १८ २०८३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनअघि तत्कालीन नेकपा (माओवादी) का शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग गोप्य सहकार्यको प्रस्ताव गरेको दाबी गरेका छन् ।

थापाले आफ्नो नयाँ पुस्तक ‘रिइम्याजिनिङ नेपाल’ मा उक्त दाबी गरेका हुन् ।

पुस्तकमा उल्लेख गरिएअनुसार पहिलो संविधानसभा निर्वाचनको प्रचारप्रसार चलिरहेका बेला २०६४ चैत ११–१२ गतेतिर डा. भट्टराईले थापालाई सम्पर्क गरेका थिए। अमृत साइन्स कलेजका सहपाठीसमेत रहेका भट्टराईले काठमाडौंको बालाजुमा एक गोप्य स्थानमा भेटेर संविधानसभा निर्वाचनबाट अपेक्षित परिणाम नआउने भन्दै राजालाई मनाएर माओवादी नेतृत्वमा सरकार गठनका लागि मध्यस्थता गरिदिन आग्रह गरेको थापाको दाबी छ।

भट्टराईको सन्देश लिएर आफू नारायणहिटी दरबार पुगेपछि तत्कालीन राजा ज्ञानेन्द्रले उक्त प्रस्ताव भट्टराईको मात्रै हो कि प्रचण्डको पनि हो भनेर सोधेको थापाले पुस्तकमा उल्लेख गरेका छन् ।

त्यसको भोलिपल्ट बिहान बालाजुमै प्रचण्ड र भट्टराईसँग भेट भएको र प्रचण्डले पनि राजासँग सहकार्यको वातावरण बनाउनुपर्ने प्रस्तावको पुष्टि गरेको थापाको दाबी छ।

थापाका अनुसार उक्त भेटमा माओवादी नेताहरूले कम्बोडियाको जस्तो मोडल तथा ‘सांस्कृतिक राजा’ को अवधारणासमेत अघि सारेका थिए। तर, राजासमक्ष प्रस्ताव राख्दा संसदवादी तथा प्रजातान्त्रिक शक्तिहरूलाई बाहिर राखेर माओवादीसँग मात्रै सहकार्य नगर्ने अडान लिइएपछि उक्त प्रयास अघि बढ्न नसकेको उहाँले पुस्तकमा उल्लेख गरेका छन् ।

थापाले त्यस भेटको केही दिनपछि भट्टराईले बुटवलमा आयोजित आमसभामा ‘सांस्कृतिक राजा’ को अवधारणा सार्वजनिक रूपमा उठाएको पनि पुस्तकमा उल्लेख गरेका छन्।

जनआन्दोलनबारे पनि थापाको दाबी

थापाले २०६२/०६३ को जनआन्दोलनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हस्तान्तरण गर्ने निर्णय गरिसकेको दाबीसमेत गरेका छन् । उनका अनुसार राजा जनधनको क्षति नहोस् भन्ने पक्षमा थिए ।

पुस्तकमा थापाले २०६३ वैशाख ६ गते राजा ज्ञानेन्द्रले आन्दोलनकारीमाथि मानवीय क्षति हुन नदिई सत्ता हस्तान्तरण गर्ने निर्णय लिएको र पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सरकारको नेतृत्व सुम्पने तयारी गरेको दाबी गरेका छन् ।

भारतीय प्रधानमन्त्रीका विशेष दूत डा. कर्ण सिंह नेपाल आउनुअघि नै नेपालले बाह्य दबाबबिना आफ्नै निर्णयबाट राजनीतिक निकास खोजेको सन्देश दिन राजाले यस्तो रणनीति बनाएको थापाको दाबी छ।

पुस्तकमा उल्लेख गरिएका यी विवरण थापाका आफ्नै संस्मरण तथा दाबीका रूपमा प्रस्तुत भएका छन्।