काठमाडौँ । यस वर्षको मनसुन प्रणाली अबको एक–दुई दिनभित्र नेपालबाट बाहिरिन सुरु हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन कमजोर हुँदै गएकाले यसको बहिर्गमन प्रक्रिया पश्चिम नेपालबाट सुरु हुन लागेको हो।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार आगामी केही दिनमा पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थाल्नेछ। त्यसपछि क्रमशः पूर्वी नेपालतर्फ सर्दै मनसुन देशभरबाट पूर्ण रूपमा बाहिरिनेछ।
नेपालमा सामान्यतया मनसुन भित्रिने औसत मिति जुन १३ र बाहिरिने औसत मिति अक्टोबर २ हो। यस वर्ष पनि मनसुनको बहिर्गमनको प्रक्रिया सोही आसपास सुरु हुन लागेको हो।
मनसुन बाहिरिएसँगै मनसुनी प्रणालीका कारण हुने लगातारको वर्षामा कमी आउनेछ। तर, मनसुन सकिनु वर्षा पूर्ण रूपमा रोकिनु भने होइन।
विभागका अनुसार मनसुन समाप्त भए पनि पश्चिमी वायु तथा स्थानीय मौसमी प्रणालीका कारण बीच–बीचमा वर्षा हुने सम्भावना रहन्छ। त्यसैले मनसुन बाहिरिएपछि पनि केही दिन मौसममा बदली र वर्षाको अवस्था देखिन सक्नेछ।