कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस एकापसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ यात्रु घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गमा आज पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०३–००१ ख ००९९ नम्बरको बस ठोक्किएका हुन्।
दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका–२ का रुपेश धिमाललाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।