बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विद्युत् विस्तारमा बढी काम देखाएर ९ लाख २६ हजार भुक्तानी

बिहिबार, असोज १५ २०८३

काठमाडौँ । हुम्लाको अदानचुली गाउँपालिकादेखि मुगुको सोरू गाउँपालिका–३ भिईसम्म विद्युत् विस्तार गर्ने क्रममा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी ९ लाख २६ हजार २३२ रुपैयाँ ७५ पैसा भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारका अनुसार खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुबाट आर्थिक वर्ष २०७७/७८ मा सञ्चालित विद्युत् विस्तार योजनामा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाई मूल्याङ्कन गरिएको थियो ।

अनुसन्धानका क्रममा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन, झुट्टा उपभोक्ता भुक्तानी बिल तथा योजना अनुगमन र भुक्तानीका लागि आवश्यक सिफारिसलगायतका कागजात तयार गरी बढी रकम भुक्तानी गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार सम्बन्धित प्रतिवादीहरूले आपसी मिलेमतोमा बदनियतपूर्वक गैरकानुनी लाभ लिने–दिने उद्देश्यले वास्तविक कामभन्दा ९ लाख २६ हजार २३२ रुपैयाँ ७५ पैसा बढी भुक्तानी गरी आफूहरूलाई गैरकानुनी लाभ पुर्‍याएका थिए ।

यसबाट नेपाल सरकार तथा सार्वजनिक संस्था खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुलाई समेत गैरकानुनी हानि पुगेको आयोगको दाबी छ ।

उक्त कार्यमा संलग्न रहेको आरोपमा सम्बन्धित प्रतिवादीहरूविरुद्ध प्रचलित कानुनबमोजिम सजायको मागदाबी गर्दै आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।