बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विपद् व्यवस्थापन संरचना सुधार गर्न सरकारसँग सांसद खरेलको माग

मंगलबार, असोज १३ २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पछिल्लो समय भएका विपद्बाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनको संरचनागत सुधार गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद खरेलले विपद्लाई ‘दैवी प्रकोप’ भनेर पन्छिने प्रवृत्ति गलत रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न र अधिकारसम्पन्न विपद् व्यवस्थापन प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खरेलका अनुसार हालैको विपद्मा परी २७ जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता छन् । विपद्का कारण अर्बौं रुपैयाँबराबरको भौतिक क्षति भएको उल्लेख गर्दै उहाँले यसलाई ‘दैवी’ नभई प्राकृतिक वा मानव सिर्जित समस्याका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ । हामीले पटक–पटक भन्दै आएका छौँ कि यसलाई दैवी प्रकोपको बिल्ला भिराएर जिम्मेवारीबाट पन्छिन मिल्दैन ।”

यसअघि संसद्मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरेको स्मरण गराउँदै खरेलले उक्त प्रस्तावबारे सरकारले अझै जवाफ नदिएको गुनासो गर्नुभयो ।

उहाँले विपद् व्यवस्थापन प्राधिकरणको वर्तमान संरचना र कार्यशैलीप्रति समेत प्रश्न उठाउनुभयो । प्राधिकरणमा सहसचिवस्तरका कर्मचारी राखेर मात्र विपद्को जटिल समस्या समाधान गर्न नसकिने भन्दै उहाँले यसलाई थप अधिकारसम्पन्न र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

विपद् व्यवस्थापनका विषयमा संसद्को विशेष समिति तथा सुशासन तथा राज्य व्यवस्था समितिले समेत गम्भीरतापूर्वक ध्यान दिनुपर्ने सांसद खरेलले बताउनुभयो ।