बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

खाद्य विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलबार, असोज १३ २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार चीनतर्फको सीमा क्षेत्रमा रोकिएको सामान आयातका लागि स्वीकृति दिलाइदिने भन्दै अधिकारीले ह्वाट्सएपमार्फत सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । उजुरीमाथि अनुसन्धान गर्दा अधिकारीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी अन्य व्यक्तिसँगको मिलेमतोमा खाद्य आयात अनुमति तथा विभागबाट हुने सार्वजनिक सेवा सहजीकरण गरिदिने भन्दै घुस माग्ने तथा लिने गरेको पुष्टि भएको आयोगको दाबी छ ।

अनुसन्धानका क्रममा अधिकारीसहित बसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठले विभिन्न बैंक खाताको विवरण तथा क्यूआर कोड आदानप्रदान गरी घुस रकम जम्मा गर्ने गरेको खुलेको आयोगले जनाएको छ ।

आयोगका अनुसार अर्जुन अधिकारीको नाममा रहेको नेपाल बैंकको खातामा रु. २५ हजार र प्रभु बैंकको खातामा रु. एक लाख १४ हजार जम्मा गरिएको थियो । त्यस्तै, बसन्तकुमार बस्याल क्षेत्रीको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रु. आठ लाख ९४ हजार ५००, रश्मिता श्रेष्ठको नाममा रहेको ग्लोबल आईएमई बैंकको खातामा रु. १४ लाख ९३ हजार ३७५ तथा सुरेश चौधरीको नाममा रहेको प्रभु बैंकको खातामा रु. दुई लाख ६९ हजार जम्मा भएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

यी खातामा जम्मा भएको रकमको कुल परिमाण रु. २८ लाख २० हजार ३७५ रहेको आयोगको भनाइ छ ।

आयोगले प्रतिवादीहरू अर्जुन अधिकारी, बसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत कसुर गरेको दाबी गर्दै सोहीबमोजिम सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

आरोपपत्र दायर हुनु अभियोजन पक्षको दाबी मात्र हो । अदालतबाट दोषी ठहर नभएसम्म प्रतिवादीहरूलाई कानुनी रूपमा निर्दोष मानिन्छ ।