काठमाडौँ । मनाङको हिमलुङ हिमालमा हिमपहिरोपछि सम्पर्कविहीन भएका १४ नेपाली उच्च हिमाली कामदार तथा गाइडको खोजी तथा उद्धारका लागि सोमबार १४ सदस्यीय टोली परिचालन गरिएको छ।
इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडेसनका सञ्चालक तथा अन्तर्राष्ट्रिय गाइड मिङ्मा जी शेर्पाको नेतृत्वमा उच्च हिमाली क्षेत्रमा काम गर्ने १४ जना कामदार तथा गाइड खोजी अभियानमा खटिएका हुन्।
खोजी टोली आइतबार काठमाडौँबाट हेलिकप्टरमार्फत हिमलुङ आधारशिविरतर्फ प्रस्थान गरेको थियो। टोलीले आइतबारदेखि सम्पर्कविहीन रहेका १४ जनाको अवस्थाबारे खोजी तथा उद्धारको काम अघि बढाउनेछ।
यसैबीच, हिमपहिरोमा परी मृत्यु भएका दुई जनाको शव चामे अस्पतालबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै छ। शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै शिक्षण अस्पतालमा ल्याएर आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।