काठमाडौं । नेपालमा हाल मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थान आसपास नै अवस्थित छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ। पहाडी भू–भागमा आंशिक बदली रहे पनि तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्नेछ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
महाशाखाले वर्षा तथा मेघगर्जनको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।