काठमाडौं । पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि विधिवत् सुरु भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध यस वर्ष पनि प्रतिपदा तिथिको श्राद्धसँगै आरम्भ हुँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको पिण्डदान अपराह्नपछि गर्नुपर्ने शास्त्रीय विधान छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गरिने भएकाले यसलाई ‘सोह्र श्राद्ध’ भनिएको हो। यसलाई ‘पितृ पक्ष’, ‘अपर पक्ष’ वा ‘प्रेत पक्ष’ समेत भन्ने गरिन्छ।
वैदिक सनातन परम्पराअनुसार चाडपर्व तथा ठूला धार्मिक कार्य गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झने गरिन्छ। सोह्र श्राद्धका क्रममा पितृको तृप्तिका लागि श्राद्ध, तर्पण र पिण्डदान गर्ने धार्मिक परम्परा रहिआएको छ।
धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुने तथा पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। उनका अनुसार शास्त्रीय मान्यतामा सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने उल्लेख छ।
धर्मशास्त्रअनुसार आफ्ना पितृको मृत्यु भएको तिथिमा श्राद्ध गर्ने विधान छ। कुनै कारणवश सोही तिथिमा श्राद्ध गर्न नसकिएमा विभिन्न वैकल्पिक व्यवस्था पनि उल्लेख गरिएको धर्मशास्त्रविद्हरू बताउँछन्।
आपत्कालीन अवस्थामा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म रोकिएको श्राद्ध गर्न सकिने व्यवस्था रहेको प्रा. डा. भट्टराईले बताए।
त्यस अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने शास्त्रीय विकल्प छ। कार्तिक कृष्ण औँसीमा समेत सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म समय मिलाएर गर्न सकिने ‘धर्मसिन्धु’ ग्रन्थमा उल्लेख रहेको बताइएको छ।
आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र तथा व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको श्राद्ध गर्न सकिने विकल्पसमेत धर्मशास्त्रका ग्रन्थमा रहेको प्रा. डा. भट्टराईले जानकारी दिए।
त्यसपछि पनि श्राद्ध गर्न नसकिए आफैँ वा नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्ने विकल्प रहेको उनले बताए। यस्तो विधि १० महिनासम्म गर्नुपर्ने शास्त्रीय व्यवस्था रहेको बताइएको छ।
धर्मशास्त्रविद्हरूका अनुसार सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय विधान छ। त्यसैले पितृको तिथिमा बिहानै श्राद्ध गराउने चलन शास्त्रसम्मत नभएको उनीहरूको भनाइ छ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। बडादसैँजस्ता ठूला पर्व मनाउनुअघि पितृलाई तृप्त पार्ने उद्देश्यले सोह्र श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
यस वर्ष जेठ महिनामा अधिकमास परेकाले सोह्र श्राद्ध र बडादसैँलगायतका पर्वको समय केही पछाडि सरेको छ।