बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

आइतबार, असोज ११ २०८३

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै गएराति पक्राउ गरेको स्रोतले जनाएको छ।

अपराध अनुसन्धान कार्यालयका स्रोतका अनुसार जबरालाई पक्राउ गरिएको हो। यद्यपि, प्रहरीले पक्राउको ठ्याक्कै कारण र उनीमाथि लगाइएको कसुरबारे हालसम्म औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन।

जबराले लामो समय न्याय सेवामा बिताएका थिए। उनी २०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए। त्यसपछि उनले विशेष अदालतको सदस्यका रूपमा समेत काम गरेका थिए।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश रहेका बेला २०७१ सालमा उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। त्यसपछि २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका जबरा उमेर हदका कारण २०७९ मंसिर २७ गते अनिवार्य अवकाशमा गएका थिए।

प्रधानन्यायाधीश रहेकै समयमा जबराविरुद्ध तत्कालीन सत्तारूढ गठबन्धनका सांसदहरूले २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गरेका थिए। प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका थिए।

महाभियोग प्रस्ताव संसद्मा विचाराधीन रहेकै अवस्थामा जबरा उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए। संघीय संसद्को अभिलेखमा पनि उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको उल्लेख छ।