बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

हिमालय जोगाउन नेपाल, भारत र चीनबीच छुट्टै संयन्त्र बनाउन प्रधानमन्त्री बालेनको प्रस्ताव

शुक्रबार, असोज ९ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हिमालय क्षेत्रमा बढ्दो जलवायुजन्य विपद्को सामना गर्न नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरण गर्न तीन देशबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।

हिमालय क्षेत्र करिब २ अर्ब मानिसको आश्रयस्थल हुनुका साथै पृथ्वीको जीवन प्रणालीका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले यसको संरक्षणका लागि साझा प्रयास आवश्यक रहेको बताए।

प्रस्तावित संयन्त्रमार्फत भूउपग्रहबाट प्राप्त तथ्यांक र विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको संयुक्त अनुगमन गर्ने तथा पूर्वचेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउने प्रस्ताव उनले अघि सारे।

जलवायुजन्य विपद्का समयमा सीमापार समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै शाहले हिमालय क्षेत्रलाई खण्डित सूचना र सीमित राष्ट्रिय प्रयासमा नराखी अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशालाका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

हिमालय क्षेत्रमा देखिएको जलवायु परिवर्तनको प्रभाव कुनै एक देशको मात्र समस्या नभएको भन्दै उनले साझा चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्य र संयुक्त संयन्त्र आवश्यक रहेको बताए।