बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

७१ वर्षीया इजरायली दृष्टिविहीन महिलाको एबीसी पदयात्रा अनुभव, नेपालको प्रकृति नै मेरो थेरापी बन्यो

बिहिबार, असोज ८ २०८३

इजरायली नागरिक ७१ वर्षीया मार्गालिट शाचार पूर्ण दृष्टिविहीन हुन् । उनले नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित संवाद कार्यक्रममा अन्नपूर्ण पदयात्राको अनुभव सुनाउँदै नेपालको प्रकृती थेरापीका लागि उत्कृष्ट गन्तव्य भएको बताएकी छन् । बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले समन्वय गरेको संवाद कार्यक्रममा आफ्नो पदयात्रा अनुभव सुनाउँदै शाचारले भनिन्, “नेपालमा पदयात्रा गर्नु मेरा लागि साहसिक यात्रा मात्र होइन । यो मेरा लागि ‘हिलिङ एरिया’ बन्यो।”

इजरायली सेना र गाजा क्षेत्रमा ‘मनोवैज्ञानिक थेरापिस्ट’ को रुपमा लामो समय काम गरेकी शाचारले आफ्नो ७० औं जन्मदिवस गत वर्ष अन्नपूर्ण सर्किटको पदयात्रा गर्दै मनाएकी थिइन् । ७०औँ जन्मदिन नेपालमै पदयात्रा गरेर मनाउन पाउँदा आफू निकै खुसी भएको बताउँदै शाचारले प्रत्येक जन्मदिनलाई जीवनको नयाँ अनुभवसँग जोड्ने गरेको बताइन् । “७० वर्ष विशेष उमेर हो । जन्मदिन मनाउन ट्रेकिङ गर्नु मेरो लागि उत्सवजस्तै हो,” उनले थपिन्, ““गत वर्ष अन्नपूर्ण सर्किट पूरा गरेको र यसपटक अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रा गरेँ । पदयात्रा कतिपय अवस्थामा जोखिमपूर्ण पनि थियो, तर मलाई यो यात्रा निकै आनन्दपूर्ण लाग्यो।”

शाचारले नेपालमा पदयात्रा गर्दा आफूलाई निकै सहज र सकारात्मक महसुस भएको उल्लेख गर्दै उनले भनिन्, “नेपालमा ट्रेकिङ गर्नु मेरो लागि राम्रो थेरापीजस्तो भयो । यसले मलाई हलुका महसुस गरायो ।” दृष्टिविहीन भए पनि पदयात्राका क्रममा आफूले प्रकृतिलाई फरक ढंगले अनुभव गरेको उनले बताइन् । उनले भनिन्, “नदीको कलकल, बाँसको सुगन्ध, हावाको स्पर्श तथा प्रकृतिका ध्वनिले मलाई निकै आनन्दित बनायो । मैले अन्नपूर्ण पदयात्रा यति कठिन होला भनेर सोचेकी थिइनँ । तर आफूलाई विश्वस्त बनाएर बिस्तारै, एक–एक पाइला अघि बढाएँ । म देख्दिनँ, त्यसैले बाटो अप्ठ्यारो होला भन्‍ने पूर्वानुमान मलाई हुँदैन र समय बितेको पनि त्यति महसुस हुँदैन । यसले मेरो यात्रालाई सहज बनायो।”

आगामी वर्ष आफ्नो छोरीको ५० औं वर्षगाँठ मनाउन नेपाल आउने र लाङटाङ पदयात्रा गर्ने योजनासमेत उनले सुनाएकी छन् । नेपाल र नेपालीप्रति पनि सम्मान र प्रशंसा व्यक्त गर्दै उनले भनिन्, “नेपालीहरूको सहयोगी र आत्मीय व्यवहारले मलाई यात्राका क्रममा “रानीजस्तो” अनुभूति भयो ।” नेपाली संस्कृति, खाना र स्थानीय अतिथिगृहको अनुभव निकै राम्रो रहेको उनले उल्लेख गरिन्।

अन्त्यमा उनले भनिन्, “आफ्नो जीवन आफूले सक्ने गरी पूर्ण रूपमा बाँच्नुपर्छ ।” दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई नेपाल भ्रमण र पदयात्राका लागि प्रेरित गर्दै उनले नेपाल सुन्दर गन्तव्य भएको र यहाँको प्रकृतिले सकारात्मक ऊर्जा प्रदान गर्ने शाचारले आफ्नो अनुभव सुनाइन्।

कार्यक्रममा नेपालस्थित इजरायली दूतावासका चार्ज द’अफेयर्स जनान मिशलेब–बेबारले शाचारको अनुभव आफूहरूका लागि पनि प्रेरणादायी भएको उल्लेख गर्दै भनिन्, “प्रकृती आँखाले मात्र देखिने होइन, महसुस पनि गर्न भन्ने सन्देश दिएको छ ।” उनले शाचारको यात्राले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई पनि साहसका साथ यात्रा गर्न प्रेरणा दिने बताइन् । “शाचारले गर्न सक्नुभयो भने अन्य दृष्टिविहीन व्यक्तिहरूले पनि यस्ता अनुभव लिन सक्नुहुन्छ । उचित सहयोग र आत्मविश्वासका साथ नेपालका पदयात्रा गन्तव्य सबैका लागि अनुभवको अवसर बन्न सक्छन्,” चार्ज द’अफेयर्स जनानले भनिन् ।” शाचारको अनुभवले नेपालमा समावेशी र पहुँचयोग्य साहसिक पर्यटनको सम्भावनालाई उजागर गर्नुका साथै दृष्टिविहीन तथा अपाङ्गता भएका यात्रुका लागि पर्यटन केवल सम्भावना मात्र नभई जीवनलाई नयाँ ढंगले अनुभव गर्ने माध्यम हुन सक्ने उनले बताइन्।

कार्यक्रममा नेपाल नेत्रहीन संघका समावेशी सल्लाहकार खोमराज शर्माले शाचारको यात्राले अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रेरणा बनेको बताए । उनले भने, “दृष्टिविहीन व्यक्तिलाई निश्चित रूपमा थप हेरचाह र सहयोग आवश्यक पर्छ । तर अपाङ्गता कुनै पनि सम्भावनाको अन्त्य होइन । हरेक अपाङ्गताभित्र पनि सम्भावना हुन्छ ।” प्रकृतिलाई केवल आँखाले हेरेर मात्र नभई स्पर्श, ध्वनि र अनुभूतिबाट पनि अनुभव गर्न सकिने उनले बताए।

सन् २००३ देखि ट्रेकिङ गाइडका रूपमा कार्यरत शिवप्रसाद अधिकारीले दृष्टिविहीन पर्यटकलाई पदयात्रा गराउनु चुनौतीपूर्ण भए पनि उचित तालिम, आपसी समझदारी र सहयोगबाट सम्भव हुने बताए । सन् २०१४ देखि आफूले इजरायलबाट आएका पर्यटकहरूको समूहलाई नेपालमा पदयात्रा गराउँदै आएको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिका लागि थप सहयोग र पहुँचयोग्य पर्यटन पूर्वाधारमा सरकारले ध्यान दिनुपर्ने सुझाव समेत उनले दिएका छन्।