हालै भोटेकोसी नदीमा आएको बाढी तथा डुबानका कारण अटोमोबाइल व्यवसायमा समेत ठूलो क्षति पुगेको छ । बाढीका कारण आयातित सवारीसाधनमा क्षति पुग्नुका साथै कतिपय सवारीसाधन हराएका छन् भने व्यवसायीका गोदाम, कार्यालय, उपकरण तथा अन्य व्यावसायिक सम्पत्तिमा समेत क्षति पुगेको भन्दै नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरणका लागि पहल थालेको छ ।
नाडाले बाढी तथा डुबानबाट अटोमोबाइल क्षेत्रका पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा भएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विपद्को यस कठिन अवस्थामा आफ्ना सदस्य तथा व्यवसायीको साथमा रहेको बताउँदै नाडाले प्रभावित व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सरोकारवाला निकायसँग समन्वय गर्ने जनाएको हो ।
बाढीका कारण भन्सार नाकालगायत विभिन्न स्थानमा रहेका आयातित सवारीसाधनमा क्षति पुगेको, धेरै सवारीसाधन हराएको तथा व्यवसायीका भौतिक संरचना र अन्य सम्पत्तिमा क्षति पुगेको विवरण प्राप्त भइरहेको नाडाले जनाएको छ । क्षतिको यथार्थ विवरण संकलन तथा अभिलेखीकरणका लागि नाडाले प्रभावित सदस्य कम्पनीहरूलाई आफ्नो क्षतिको प्रमाणित विवरण सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ । नाडाले क्षतिको विवरणमा बाढी तथा डुबानबाट क्षति भएका सवारीसाधन, हराएका वा सम्पर्कविहीन सवारीसाधन, सवारीसाधन रहेको स्थान तथा सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या, प्रकार र उपलब्ध पहिचान विवरण समावेश गर्न भनेको छ ।
त्यस्तै, गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षति, बीमा गरिएका सम्पत्ति तथा सवारीसाधन, बीमा दाबीका लागि आवश्यक कागजात, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसँग सम्बन्धित विवरण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरणसमेत उपलब्ध गराउन नाडाले आग्रह गरेको छ ।
नाडाका अनुसार प्राप्त विवरणका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहजीकरण गरिनेछ । विशेषगरी बीमा दाबी प्रक्रिया शीघ्र र सहज बनाउन बीमा कम्पनीसँग समन्वय गर्ने तथा भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग सहकार्य गर्ने नाडाको योजना छ ।
बाढीबाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन वा अन्य सम्भावित वित्तीय सहजीकरणका विषयमा समेत सम्बन्धित निकायसँग समन्वय गरिने नाडाले जनाएको छ । यसका साथै अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण सरकार तथा सम्बन्धित सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाको भनाइ छ । समन्वयको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गर्ने तयारीसमेत नाडाले गरेको छ । उक्त समितिमार्फत प्रभावित सदस्य व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि आवश्यक पहल गरिने बताइएको छ ।
नाडाले प्रभावित सबै सदस्य व्यवसायीलाई यथार्थ क्षतिको विवरण यथाशीघ्र सचिवालयमा उपलब्ध गराउन आग्रह गर्दै विपद्बाट प्रभावित व्यवसायीलाई आवश्यक समन्वय र सहजीकरणमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ ।