काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्वी बङ्गालको खाडीमा रहेको छ । उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ ।
मंगलबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थान तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मंगलबार राति कोशी र मधेश प्रदेशलगायत देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ ।