बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

सोमबार, असोज ५ २०८३

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

भक्तपुरको कमलविनायकस्थित येचु बुटिक होटलमा असोज ३ र ४ गते सम्पन्न ‘अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्ट कन्भेन्सन–२०२६’ ले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । निर्वाचन समितिका अनुसार निर्धारित समयभित्र उम्मेदवारहरूको अन्तिम नामावलीमाथि कुनै दाबी–विरोध नपरेपछि सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।

नयाँ कार्यसमितिमा विजय सत्याल गभर्नर इलेक्ट र मानबहादुर बस्नेत डेपुटी गभर्नर निर्वाचित भएका छन् । रिना श्रेष्ठ सचिव तथा ईश्वरीप्रसाद खनाल कोषाध्यक्ष चयन भएका छन् । कमलराम भट्टराई पार्लियामेन्टरियन र रवीन्द्र थापा सर्जेन्ट एट आम्र्स निर्वाचित भएका छन् । त्यस्तै, राधादेवी बोहोरा, रुस्मा गौतम, अरुणराज पाण्डे, अञ्जली रञ्जित श्रेष्ठ, प्रल्हाद दाहाल, शंकर राजबाहक, किरण तिवारी र ओमप्रकाश चौँलागाई लेफ्टिनेन्ट गभर्नर चयन भएका छन्। प्रदीप थापा, तारा सापकोटा, नोबेल डिसी, शिरीष भट्टराई, उज्ज्वल शशी भण्डारी र कमल सुवार कार्यकारी समिति सदस्य निर्वाचित भएका छन्।

यसअघि एसिया डिस्ट्रिक्टको नेतृत्व गरेका प्रतापबहादुर थापा निवर्तमान गभर्नरका रूपमा नयाँ कार्यसमितिमा रहनेछन् । थापाले नयाँ नेतृत्वले अप्टिमिस्टको अभियानलाई थप विस्तार गर्दै समुदायमा सकारात्मक सोच, आशा र सामाजिक उत्तरदायित्वका गतिविधिलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

थापाले आफ्नो कार्यकालमा एसिया डिस्ट्रिक्टको संस्थागत संरचना विस्तार र गतिविधिलाई थप व्यवस्थित गर्ने प्रयास भएको उल्लेख गर्दै नयाँ नेतृत्वले त्यसलाई निरन्तरता दिनुपर्ने बताए । उनका अनुसार अप्टिमिस्टको मूल उद्देश्य समुदायमा सकारात्मक सोच विकास गर्नुका साथै सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउनु हो । पृथ्वीराज थापा संयोजक रहेको निर्वाचन समितिमा कमलराम भट्टराई र दीपकबाबु मैनाली सदस्य थिए।

दुईदिने कन्भेन्सन भक्तपुर–१ का प्रतिनिधिसभा सदस्य रुकेश रञ्जितको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो। कार्यक्रमको अध्यक्षता एसिया डिस्ट्रिक्टका गभर्नर तथा कन्भेन्सन संयोजक प्रतापबहादुर थापाले गरेका थिए । कार्यक्रममा संस्थापक गभर्नर उदय निरौला र पूर्वगभर्नर पृथ्वीराज थापालगायतको सहभागिता थियो।

कन्भेन्सनमा अप्टिमिस्ट क्लब तथा एसिया डिस्ट्रिक्टका गतिविधिको समीक्षा, आगामी कार्ययोजना, संस्थागत विकास, नेतृत्व हस्तान्तरण र सदस्यता विस्तारका विषयमा छलफल भएको थियो । समुदायमा आशावाद र सकारात्मक सोच प्रवद्र्धन गर्ने उपायबारे पनि सहभागीहरूले धारणा राखेका थिए।

कन्भेन्सनअन्तर्गत रचनात्मक पत्रकारिता, पुँजीबजार तथा व्यक्तिगत उत्प्रेरणासम्बन्धी विषयमा विभिन्न सत्र सञ्चालन गरिएको थियो । एनआरएन इन्फ्रास्ट्रक्चरका प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले आशावाद र पुँजीबजारबारे तथा उत्प्रेरक वक्ता रमन भट्टराईले सकारात्मक सोच र व्यक्तिगत उत्प्रेरणाबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा पत्रकार तथा लेखक टुमराज कोइराला ‘कला अनुरागी’ले ‘आशाको सञ्चार ः रचनात्मक पत्रकारिताबाट समाज रूपान्तरणतर्फ’ विषयमा मन्तव्य दिँदै सञ्चारमाध्यमले समस्या उजागर गर्नुका साथै त्यसको सामना गर्न भइरहेका विश्वसनीय प्रयासलाई पनि सार्वजनिक गर्नुपर्ने बताए । उनले रचनात्मक पत्रकारिता समस्यालाई लुकाउने वा कृत्रिम रूपमा सकारात्मक सामग्री प्रस्तुत गर्ने अभ्यास नभएको स्पष्ट पार्दै तथ्य र प्रमाणका आधारमा समाधानका प्रयासको खोजी गर्नुपर्ने बताए । “आशा भनेको सबै कुरा ठीक छ भन्नु होइन। ठीक नभएको कुरा बदल्न सकिन्छ भन्ने आधार देखाउनु हो,” उनले भने।

कोइरालाले अप्टिमिस्ट क्लबका सदस्यलाई आफ्नो समुदायमा भइरहेका प्रभावकारी प्रयास पहिचान गरी रचनात्मक पत्रकारितामार्फत सार्वजनिक गर्न आग्रह गरे । उनले ‘एक क्लब, एक समुदाय, एक समाधान, एक कथा र एक संवाद’ अवधारणामा अभियान सञ्चालन गर्न प्रस्तावसमेत गरे । कन्भेन्सनमा एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष विक्रम धुकुछु, नेसनल प्याब्सन भक्तपुरका सचिव रत्न राई, उपभोक्ता मञ्च नेपालका वक्ता उज्ज्वलराज गौतम र नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलगायतको सहभागिता थियो।

अप्टिमिस्ट इन्टरनेसनलले सन् २०२० नोभेम्बर १७ मा नेपाल डिस्ट्रिक्टलाई औपचारिक मान्यता दिएको थियो । नेपाल डिस्ट्रिक्ट उत्तर अमेरिकाबाहिर स्थापना भएको अप्टिमिस्ट इन्टरनेसनलको पहिलो डिस्ट्रिक्ट भएको जनाइएको छ।