बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

शनिबार, असोज ३ २०८३

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको दैनिक जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु अहिलेको मुख्य दायित्व भएको बताएका छन्।

संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन हासिल गर्न सबै पक्षको एकताबद्ध प्रयास आवश्यक रहेको बताएका हुन्।

उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने प्रयास स्वीकार्य नहुने बताएका छन्। संविधानका मूल्य र जनअधिकार कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा पनि उनले जोड दिएका छन्।

प्रचण्डले राजनीतिक परिवर्तनलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने बताएका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

“संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ,” प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।

उनले संविधानलाई केवल कानुनी दस्तावेजका रूपमा मात्र हेर्न नहुने बताएका छन्। संविधान नेपाली जनताको त्याग, संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको उनको भनाइ छ।

प्रचण्डले संविधान दिवसले संविधानका उपलब्धिको संरक्षण गर्दै बाँकी कार्यभार पूरा गर्न थप प्रतिबद्ध भएर अघि बढ्ने प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।