बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गोली नचलाउनु, दमन नगर्नु भनेको थिएँ, काँक्रा खाएर बियाँ हामीलाई नटाँसियोस् : अध्यक्ष ओली

शनिबार, असोज ३ २०८३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आफूले गोली नचलाउन र दमन नगर्न निर्देशन दिएको दाबी गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै ओलीले आन्दोलनका क्रममा भएको घटनाबारे विभिन्न अन्तर्राष्ट्रिय अध्ययन, अनुसन्धान, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्रीले थप तथ्य सार्वजनिक गरिरहेको बताए।

उनले भदौ २३ गते युवामाथि योजनाबद्ध रूपमा हत्या गराइएको र त्यसैलाई आधार बनाएर भोलिपल्ट देशभर लुटपाट, हिंसा, आगजनी तथा अराजकता फैलाइएको दाबी गरे।

ओलीले आफू प्रधानमन्त्री हुँदा आन्दोलनमा गोली नचलाउन र दमन नगर्न भनेको उल्लेख गर्दै त्यसका बाबजुद गोली कसरी चल्यो भन्ने विषयमा प्रश्न उठाए।

“हामीले त चलाएनौँ, नचलाउनु भनेको थियो। प्रधानमन्त्री म थिएँ, मैले नचलाउनु, दमन नगर्नु भनेको थिएँ। दमन भयो किन?” ओलीले प्रश्न गरे।

उनले आफूहरूमाथि घटनाको दोष थोपर्ने प्रयास भएको दाबी गर्दै “काँक्रा उनीहरूले चोरेर खाए, बियाँ हाम्रो गालामा ल्याएर टाँसे” भन्ने टिप्पणी गरे। आन्दोलनमा भएका घटनाबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने उनको भनाइ थियो।

ओलीले भदौ २४ गते भएको हिंसा र आगजनी तत्काल उत्पन्न भएको आक्रोश मात्र नभएको दाबी गर्दै त्यसअघि नै सिंहदरबार र संसद् भवन जलाउने लगायतका विषय सामाजिक सञ्जाल तथा अन्य माध्यममा प्रचार भएको बताए।

उनले देशलाई अराजकताको अवस्थामा पुर्‍याएर असंवैधानिक रूपमा सत्ता संरचना निर्माण गर्ने षड्यन्त्र भएको दाबी पनि गरे। संविधान र निर्वाचनमार्फत प्राप्त जनादेशलाई सडकबाट केही हजार मानिसको उपस्थितिका आधारमा उल्ट्याउने प्रयास भएको उनको आरोप थियो।

घटनाबारे छानबिन गर्न बनेका आयोग तथा सम्बन्धित निकायको कामप्रति पनि ओलीले असन्तुष्टि व्यक्त गरे। उनका अनुसार कतिपय निकायले प्राप्त नतिजा सार्वजनिक गर्न हिच्किचाएको वा पर्याप्त रूपमा काम नगरेको अवस्था देखिएको छ।

ओलीले नेपाललाई लोकतान्त्रिक विधिबाट अघि बढ्न नदिइएको दाबी गर्दै संविधानसम्मत प्रक्रियाबाट मुलुक सञ्चालन हुनुपर्नेमा जोड दिए।

ओलीले नेकपा एमालेको आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टी अझ सुदृढ एकताका साथ अघि बढ्ने दाबी गरेका छन्।

उनका अनुसार असोज ५ देखि ७ गतेसम्म हुने केन्द्रीय कमिटी बैठकले पार्टीभित्र देखिएका समस्याको समाधान खोज्नेछ। बैठकले पार्टीलाई सुदृढ एकताको सूत्रमा बाँध्ने र उच्च मनोबलका साथ अघि बढ्ने वातावरण बनाउने उनको दाबी छ।

ओलीले एमालेले प्रतिक्रियावादीहरूसँग लड्ने मात्र नभई राजनीतिक रूपमा सामना गरेर अघि बढ्ने सामर्थ्य हासिल गर्ने बताए।

उनले नेकपा एमाले फेरि नेपालको निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित हुने दाबीसमेत गरे।

“नेकपा एमाले यही तालले सिध्याउँछु भन्या होला, कुनै तालले नेकपा एमाले सिधिनेवाला छैन,” ओलीले भने।

पार्टीभित्र कमजोरी हुन सक्ने स्वीकार गर्दै उनले त्यस्ता कमजोरी पहिचान गरेर सुधार गर्ने क्षमता एमालेसँग रहेको बताए। गल्तीबाट सिकेर पुनः अघि बढ्ने क्षमता पार्टीमा रहेको उनको भनाइ थियो।

ओलीले एमालेले वैचारिक, राजनीतिक, आर्थिक, परराष्ट्र, सामाजिक–सांस्कृतिक, वातावरण र मानव अधिकारका विषयमा नीति बनाएर अघि बढ्ने बताए।

उनले नेपालका राष्ट्रिय नीतिहरू अन्य शक्तिले नभई नेकपा एमालेले तय गर्ने दाबीसमेत गरे।

“सही नीति दिनुपर्छ, राष्ट्रिय नीति त्यो एमालेले दिन्छ,” ओलीले भने।