काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति पर्याप्त रहेको दाबी गरिरहेका बेला देशका विभिन्न सहरमा पुनः ग्यास अभाव देखिएको छ । काठमाडौं उपत्यकासहित चितवन, विराटनगर र धरानमा उपभोक्ता खाली सिलिण्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य भएका छन् ।
डिलर तथा सप्लायर्सबाट ग्यास सहज रूपमा नपाएपछि उपभोक्ता उद्योगकै गेटसम्म पुग्न थालेका छन् । कतिपय उपभोक्ताले एउटा सिलिण्डर साट्न एक साताभन्दा बढी समय कुर्नुपरेको गुनासो गरेका छन् ।
सरकारले गत असार ३१ गतेदेखि पुनः १४.२ किलोग्राम तौलको पूरा सिलिण्डर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको दुई सातामै बजारमा ग्यासको अभाव देखिएको हो । यसअघि ग्यासको संकट चर्किएपछि निगमले २०८२ फागुनदेखि ७.१ किलोग्राम अर्थात् आधा भरिएको सिलिण्डर बिक्री गर्ने व्यवस्था गरेको थियो । पूरा तौलको सिलिण्डर पुनः बिक्रीमा आएपछि बजारमा माग एकाएक बढेको व्यवसायीको भनाइ छ ।
काठमाडौंका टोल–टोलमा रहेका ग्यास डिपो तथा डिलरमा ग्यास नपाएपछि सर्वसाधारण बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगको वितरण केन्द्रसम्म पुग्न थालेका छन् । त्यहाँ बिहानैदेखि खाली सिलिण्डर बोकेर उपभोक्ता लाममा बस्ने गरेका छन् ।
यस्तै, चितवनको भरतपुर तथा पूर्वी नेपालका विराटनगर र धरानमा पनि ग्यासका लागि उपभोक्ताले लामो समय पालो कुर्नुपर्ने अवस्था देखिएको छ । धरानमा उपभोक्ताको सिलिण्डरमै पालो नम्बर लेखेर वितरणको प्रतीक्षा गराउने गरिएको छ ।
काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा पनि खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ । सुगम, नेपाल, एभरेस्ट, एलपी, राजधानी र त्रिवेणी ग्यासलगायत विभिन्न कम्पनीका सिलिण्डर बोकेर उपभोक्ता पालो पर्खिरहेका छन् ।
नेशनल ट्रेडिङको टेकु शाखाबाट बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म ग्यास बिक्री–वितरण गर्ने समय तोकिएको छ । हिलो, घाम र वर्षाको समेत पर्वाह नगरी उपभोक्ता घण्टौँ लाइनमा उभिन बाध्य भएका छन् ।
यता, नेपाल आयल निगमले भने देशभर र विशेषगरी काठमाडौं उपत्यकामा एलपी ग्यासको कुनै अभाव नरहेको दाबी गर्दै आएको छ । निगमका अधिकारीहरूले ग्यास उद्योगीलाई नियमित रूपमा आवश्यक सुविधा उपलब्ध गराइएको र भारतबाट ग्यास बोकेका बुलेटसमेत निर्वाध रूपमा नेपाल भित्रिरहेको दाबी गरेका छन् ।
तर खुद्रा डिलरमा ग्यास नपाएर उद्योग तथा वितरण केन्द्रसम्म खाली सिलिण्डर बोकेर पुग्नुपरेका उपभोक्ताले भने निगमको दाबी र बजारको वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको बताएका छन् । निगमले आपूर्ति सहज रहेको बताए पनि डिलरमा ग्यास नपाउने र उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने अवस्थाले बजारमा आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठेको छ।