बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गगन थापाको प्रश्न : प्रधानमन्त्री भाउ खाएर ठालु भएर बस्ने समय हो ?

बुधबार, साउन १३ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री वालेन्द्र शाहलाई सक्रिय, समन्वयकारी र सबै पक्षलाई समेट्ने नेतृत्व गर्न आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकार सुरक्षा बलको परिचालन वा सामाजिक सञ्जालमा सन्देश सार्वजनिक गर्ने काममै सीमित हुन नहुने बताए। उनले संकटको समयमा प्रधानमन्त्रीले अहङ्कार त्यागेर सबै राजनीतिक दल, तहका सरकार र सरोकारवालासँग संवाद तथा सहकार्य बढाउनुपर्नेमा जोड दिए।

“यस्तो बेलामा पनि प्रधानमन्त्री भाउ खाएर बस्ने हो? ठालु भएर बस्ने हो? अहिले सबैलाई जोड्ने, सबैको विश्वास जित्ने र सबैलाई समेटेर अघि बढ्ने प्रयास गर्नुपर्छ,” थापाले भने ।

उनले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाई राष्ट्रपति, प्रदेश सरकार र स्थानीय तहसँग निरन्तर संवाद गरी सरकारका प्रयासबारे साझा जानकारी गराउनुपर्ने सुझाव दिए। राष्ट्रिय संकटका बेला सहकार्य र विश्वासको वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व भएको उनको भनाइ थियो।

थापाले मधेशमा हुने घटनामा राज्यले ‘अतिरिक्त बल’ प्रयोग गर्ने प्रवृत्ति दुःखद् भएको टिप्पणी गर्दै यसलाई राज्य सञ्चालनको कमजोरीको निरन्तरता भएको बताउनुभयो। घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यस विषयमा संसद्मा आवाज उठाइने जानकारी दिए ।

“अहिले सरकारलाई अप्ठ्यारो पार्ने समय होइन, जिम्मेवारीपूर्वक सहयोग गरेर समस्या समाधान गर्ने समय हो,” उनले भने ।