काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रमा मानव बेचबिखन तथा लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले सप्ताहव्यापी अभियान सुरु गरिएको छ।
प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोङ्गबुको संयुक्त आयोजनामा सुरु गरिएको अभियानअन्तर्गत मानव बेचबिखन रोकथाम र युवालाई लागुऔषधको दुव्र्यसनबाट जोगाउने विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रमको उद्घाटन गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताए। उनले विशेषगरी युवामा बढ्दो लागुऔषधको लत र मानव बेचबिखनजस्ता अपराध नियन्त्रणका लागि सबै पक्ष एकजुट भएर अभियानमा सहभागी हुनुपर्नेमा जोड दिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले गोङ्गबु बसपार्क क्षेत्र लागुऔषध दुव्र्यसन र मानव बेचबिखनको जोखिमयुक्त क्षेत्र भएकाले यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सार्वजनिक यातायातका साधनमार्फत लागुऔषध ओसारपसार हुने जोखिम रहने भएकाले चालक तथा सहचालकले यात्रु चढाउँदा र यात्रा सञ्चालन गर्दा विशेष सतर्कता अपनाउनुपर्ने बताए।
टोखा नगरपालिका–९ का अध्यक्ष रामभक्त घिमिरेले गोङ्गबु क्षेत्रलाई अपराधमुक्त बनाउन स्थानीय सरकार र नेपाल प्रहरीबीच निरन्तर सहकार्य भइरहेको जानकारी दिए ।
प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शङ्कर श्रेष्ठका अनुसार अभियानअन्तर्गत एक सातासम्म गोङ्गबु बसपार्क क्षेत्रका होटल, रेष्टुराँ, दोहोरी, विद्यालय तथा सार्वजनिक स्थलमा मानव बेचबिखन र लागुऔषधविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा महर्षि कलेज पवित्रनगर र बीएसटी कलेज बसपार्कका विद्यार्थीहरूको सहभागिता रहेको थियो।