कञ्चनपुर । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बहुविवाह मुद्दामा दोषी ठहर भएका नरेशराम विक तथा पुनःचलनसम्बन्धी मुद्दामा दोषी ठहर भएकी कौशिला चन्दलाई शुक्रबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार नरेशराम विकलाई विसं २०८२ असार २० गतेको अदालतको फैसलाअनुसार एक वर्ष तीन महिना कैद तथा रु १५ हजार जरिवानाको सजाय तोकिएको थियो।
त्यसैगरी, कौशिला चन्दलाई विसं २०७९ मङ्सिर १६ गतेको फैसलाअनुसार रु पाँच हजार जरिवाना हुने फैसला भएको थियो।
पक्राउ परेका दुवै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको प्रहरी नायब उपरीक्षक रावतले जानकारी दिए।