बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा खत्री समूहको वर्चस्व

सोमबार, जेष्ठ २५ २०८३

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार डिकबहादुर खत्री (कुमार) प्यानलसहित विजयी भएका छन्।

नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेसनिकट केही व्यवसायीको संयुक्त समूहबाट उम्मेदवारी दिएका खत्रीले नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका मेघनाथ भुर्तेल र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका हरिबहादुर पाण्डे क्षेत्री लाई पराजित गर्दै अध्यक्षमा विजय हासिल गरेका हुन्।

अध्यक्ष पदमा खत्रीले ३४७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी भुर्तेलले १९२ मत र पाण्डे क्षेत्रीले १७० मत पाए।

मतगणनाको अन्तिम परिणामअनुसार प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ मत), तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल (२५९ मत), महासचिवमा हरि डाँगी (२७३ मत), सचिवमा केदारनाथ अधिकारी (२९४ मत) तथा कोषाध्यक्षमा धनमाया सिन्जाली (३२३ मत) विजयी भएका छन्।

१७ सदस्यीय कार्यसमितिमा प्रगतिशील प्यानलले उल्लेखनीय सफलता हासिल गर्दै ७ पदाधिकारीमध्ये ६ र १० कार्यसमिति सदस्यमध्ये ८ पद जितेको छ। एशोसिएसन प्यानलबाट तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल तथा सदस्यहरू गीता राउत र दीक्षा दाहाल निर्वाचित भएका छन्।