पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष खाद्यान्न आयात मूल्यमा १५ प्रतिशत अर्थात् ३ अर्ब ८७ करोड रुपैयाँले कमी आएको हो।
गत आर्थिक वर्षको १० महिनामा सो नाकाबाट २४ अर्ब ६६ करोड रुपैयाँ बराबरको १६ प्रकारका खाद्यान्न आयात भएको थियो।
चालु आर्थिक वर्षमा धानको आयात सबैभन्दा बढी रहेको छ, जसको मूल्य १० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै मकै ५ अर्ब ३१ करोड रुपैयाँ बराबर र चामल २ अर्ब ८५ करोड रुपैयाँ बराबर आयात भएको छ।
यसैगरी माल्ट ५९ करोड रुपैयाँ बराबर र फापर, कोदो तथा अन्य खाद्यान्न ३३ करोड रुपैयाँ बराबर आयात भएको भन्सार कार्यालयले जनाएको छ।