बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सभापति रवि लामिछानेले भाजपा अध्यक्ष नितिन नवीनलाई दिए दर्जनौं उपहार

मंगलबार, जेष्ठ १९ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग विशेष भेटवार्ता गरेका छन् ।

हिजोदेखि भारत भ्रमणमा रहेका लामिछानेले यस भेटका क्रममा नवीनलाई नेपालको विशिष्ट धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचान झल्काउने विभिन्न महत्वपूर्ण उपहारहरू प्रदान गरेका छन् ।

उपहारहरूमा अष्ट चिरञ्जीवीको सूची, पशुपतिनाथ मन्दिरको कलात्मक चित्र, पवित्र चन्दन र रुद्राक्षको माला समावेश रहेका छन्, जसले दुई देशबीचको प्राचीन र गहिरो सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

भेटका क्रममा प्रदान गरिएको अष्ट चिरञ्जीवीको सूचीमा हिन्दू धर्मग्रन्थहरूले उल्लेख गरेका ती आठ महान् व्यक्तित्वहरूको विवरण छ, जसलाई युगौँयुगसम्म जीवित रहने वरदान प्राप्त छ ।

यसमा गुरु द्रोणाचार्यका पुत्र अश्वत्थामा, दानवीर असुर राजा महाबली, महाभारतका रचयिता वेदव्यास, शक्ति र भक्तिका प्रतीक हनुमान, सत्यको मार्ग रोज्ने विभीषण, महाभारत कालका गुरु कृपाचार्य, भगवान विष्णुका छैटौँ अवतार परशुराम र अमरत्व प्राप्त मार्कण्डेय ऋषिको चर्चा गरिएको छ ।

धार्मिक मान्यताअनुसार यी अष्ट चिरञ्जीवीको स्मरणले आयु, बल, ज्ञान र कल्याण प्राप्त हुने भएकाले यस उपहारलाई विशेष आध्यात्मिक सन्देशका रूपमा हेरिएको छ ।

त्यसैगरी, लामिछानेले उपहारका रूपमा भगवान पशुपतिनाथ मन्दिरको एउटा अत्यन्तै सुन्दर र कलात्मक हस्तनिर्मित चित्र पनि प्रदान गरेका छन् ।

सुन र चाँदीको प्रयोग गरी तयार पारिएको यो चित्रले नेपालको मौलिक कला र धार्मिक परम्पराको उत्कृष्ट नमुना प्रस्तुत गर्दछ । यो कलाकृति भक्तजन र कलाप्रेमी दुवैका लागि विशेष अर्थ राख्ने किसिमको छ ।

यसका साथै, पशुपतिनाथको गर्भगृहमा रहेको पवित्र शिवलिंगमा अर्पण गरिने चन्दनको प्रतीक पनि उपहारस्वरूप दिइएको छ । शिवलिंगमा लगाइने यो चन्दनले भगवान शिवको तेस्रो नेत्र अर्थात् ज्ञान, शक्ति र दिव्य चेतनाको स्वरूपलाई प्रतिनिधित्व गर्दछ ।

पवित्रता र आध्यात्मिक ऊर्जाको प्रतीक मानिने यो चन्दनलाई विभिन्न धार्मिक अनुष्ठानहरूमा अत्यन्तै महत्वका साथ प्रयोग गरिन्छ ।