बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सूर्यविनायकमा घुम्ती हाटबजारप्रति उपभोक्ताको आकर्षण, गुण्डुमा पाँच लाखभन्दा बढीको कारोबार

आइतबार, जेष्ठ ३ २०८३

भक्तपुर। सूर्यविनायक नगरपालिकाले “स्थानीय उत्पादन, स्थानीय बजारमा” भन्ने नारासहित सञ्चालन गर्दै आएको निःशुल्क घुम्ती हाटबजार कार्यक्रम अन्तर्गत शुक्रबार वडा नं ७ गुण्डुमा हाटबजार सञ्चालन गरेको छ ।

नगरपालिकाको आयोजना तथा वडा नं ७ कार्यालयको व्यवस्थापनमा सम्पन्न हाटबजारमा दुई हजारभन्दा बढी उपभोक्ताले सेवा लिएको नगरपालिकाले जनाएको छ । किसान र स्थानीय उद्यमीले उत्पादन गरेका वस्तुहरू बिचौलियाविनै प्रत्यक्ष रूपमा उपभोक्तासम्म पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा नं ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले बताए ।

उनका अनुसार यसअघि वडा नं २ बालकोटस्थित गोदावरी करिडोरबाट सुरु गरिएको घुम्ती हाटबजार गत साता वडा नं ४ दक्षिण बाराहीमा सञ्चालन गरिएको थियो भने शुक्रबार गुण्डुमा आयोजना गरिएको हो । आगामी शनिबार वडा नं ९ चित्तपोल र त्यसपछि वडा नं ८ सिपाडोलमा कार्यक्रम सञ्चालन गरी पहिलो चरण सम्पन्न गरिने उनले जानकारी दिए ।

नगरपालिकाले स्टल व्यवस्थापनदेखि सम्पूर्ण खर्च व्यहोरेर किसान, उद्यमी तथा व्यापारीलाई निःशुल्क स्टल उपलब्ध गराएको थियो । गुण्डुमा आयोजित हाटबजारमा ३० वटा स्टल राखिएका थिए । स्टलहरूमा स्थानीय उत्पादनका गुन्द्रुक, मस्यौरा, जिम्बु, च्याउ, हरिया तरकारी, कृषिका बीउबिजन, कम्पोष्ट मल, फलफूल, महिला उद्यमीले बनाएका हस्तकलाका सामग्री तथा नेवारी परिकारलगायतका वस्तु प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए ।

वडाध्यक्ष सापकोटाका अनुसार हाटबजारमा नगरपालिकाभित्रका विभिन्न स्थानबाट आएका उपभोक्ताको उल्लेख्य सहभागिता रहेको थियो । व्यवसायीहरूले एकै दिन पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको भन्दै सहभागीहरूले यस्ता हाटबजारलाई नियमित रूपमा प्रत्येक साता सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

नगरपालिकाले कार्यपालिका बैठकबाट हाटबजार सञ्चालन कार्यविधि स्वीकृत गरी कार्यक्रम अघि बढाएको जनाएको छ । पहिलो चरणको समीक्षा पश्चात वडावडामा हरेक शनिबार नियमित रूपमा हाटबजार सञ्चालन गर्ने तयारी भइरहेको प्रवक्ता सापकोटाले बताए ।