काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ ।
मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीका अनुसार शनिबार राति मन्दिरको भेटी राखिएको बाकस चोरी भएको हो ।
आज बिहान पूजा गर्न पुगेका पुजारीले भेटी बाकस नदेखेपछि खोजी गर्दा हराएको पुष्टि भएको बताइएको छ ।
समितिका अनुसार महाशिवरात्रि पर्वपछि नखोलिएको उक्त बाकसमा करिब ८ देखि १० लाख रुपैयाँ रहेको अनुमान गरिएको छ ।
मन्दिरमा सुरक्षाका लागि राखिएको प्रहरी बिट भदौको जेनजी आन्दोलनपछि हटाइएकाले सुरक्षा कमजोर भएको स्थानीयले बताएका छन् । समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आएको छ ।
पशुपति क्षेत्रस्थित गौचरणमा रहेको नागेश्वर मन्दिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा गोठाटारमा स्थानान्तरण गरिएको हो ।