काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर २ लाख ९८ हजार ६०० रुपैयाँ पुगेको छ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तथा चाँदी ४ हजार ८८० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उकालो लागिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा एक औँस सुन ४ हजार ७०३ अमेरिकी डलर र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।