शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मोरङमा हवाई फायरपछि आधा किलो खैरो हेरोइनसहित युवक पक्राउ

मंगलबार, बैशाख ८ २०८३

विराटनगर । मोरङको रतुवामाइ नगरपालिकामा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर लागुऔषध ओसारपसारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

रतुवामाइ नगरपालिका–१ हटिया क्षेत्रमा खैरो हेरोइन कारोबारमा संलग्न रहेको आरोपमा स्थानीय सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँ पक्राउ परेका हुन्।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ लागुऔषध भित्रिँदै गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो। भारतीय नम्बर प्लेटको बीआर३८एडी ५३९० नम्बरको मोटरसाइकलमा सवार मियाँले प्रहरी देख्नासाथ भाग्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कट्वालका अनुसार उनलाई रोक्न चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरिएको थियो।

मियाँको साथबाट पाँच पोका गरी जम्मा ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।