बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विद्युत् महसुल सहज बनाउन सेवा प्रदायक छनोट गर्दै प्राधिकरण

आइतबार, बैशाख ६ २०८३

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सङ्कलन प्रक्रियालाई थप सहज, सरल र प्रभावकारी बनाउन इच्छुक सेवा प्रदायक संस्थासँग प्रस्ताव आह्वान गरेको छ ।

प्राधिकरणले विद्युतीय माध्यमबाट महसुल सङ्कलन गर्ने वा गराउने फर्म तथा संस्थालाई आवश्यक कागजातसहित प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

प्रस्ताव पेस गर्ने संस्थाले कम्पनी दर्ता तथा नवीकरण प्रमाणपत्र, नेपाल राष्ट्र बैंकबाट प्राप्त भुक्तानी सेवा प्रदायकको इजाजतपत्र, आयकर तथा मूल्य अभिवृद्धि कर चुक्ता प्रमाणपत्र, प्रबन्धपत्र र नियमावली बुझाउनुपर्नेछ ।

यसका साथै कानुनी रूपमा अयोग्य नभएको स्वघोषणा, प्राधिकरणले तोकेअनुसार बैंक जमानत पेस गर्ने प्रतिबद्धता, दुर्गम क्षेत्रका ग्राहकलाई समेत सेवा दिने प्रतिबद्धता तथा आय तथ्याङ्कको गोपनीयता र सुरक्षाको प्रत्याभूति आवश्यक रहनेछ ।

सेवा प्रदायकले सङ्कलित रकम प्राधिकरणले तोकेको बैंक खातामा जम्मा गर्नुपर्नेछ । साथै ग्राहकलाई विभिन्न माध्यमबाट बढीभन्दा बढी सुविधा उपलब्ध गराउन सक्नुपर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणले ग्राहकबाट लिन पाइने सेवा शुल्कको सीमा पनि तोकेको छ । पाँच सय रुपैयाँसम्मको महसुल भुक्तानीमा कुनै शुल्क लिन पाइने छैन ।

यस्तै, पाँच सय एकदेखि पाँच हजार रुपैयाँसम्म प्रतिकारोबार अधिकतम पाँच रुपैयाँ, पाँच हजार एकदेखि १० हजार रुपैयाँसम्म अधिकतम आठ रुपैयाँ र १० हजार रुपैयाँभन्दा माथि अधिकतम १० रुपैयाँ मात्रै सेवा शुल्क लिन पाइनेछ ।

प्राधिकरणका अनुसार प्रस्ताव स्वीकृत भएका सेवा प्रदायकले १५ दिनभित्र सम्झौताका लागि उपस्थित हुनुपर्नेछ । उनीहरूले कम्तीमा एक वर्ष म्याद भएको एक करोड रुपैयाँ बराबरको बैंक जमानत राख्नुपर्नेछ ।

सेवा प्रदायकले बैंक जमानत रकमभन्दा बढी दैनिक सङ्कलन गर्न नपाउने व्यवस्था गरिएको छ । साथै महसुल सङ्कलन गरेबापत प्राधिकरणबाट कुनै अतिरिक्त सेवा शुल्क नपाइने जनाइएको छ ।

विवाद उत्पन्न भएमा प्राधिकरण सञ्चालक समितिले तोकेको अध्यक्षको नेतृत्वमा विवाद समाधान समिति गठन गरिनेछ ।