शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रूपन्देहीमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीको गोली लाग्दा एक घाइते, तीन जना पक्राउ

मंगलबार, चैत्र २४ २०८२

काठमाडाैं । रूपन्देहीमा लागुऔषध नियन्त्रण अभियानका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।

घाइते हुनेमा रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव रहेका छन्। उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल भीम अस्पताल, भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले यूपी५६एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोजेको थियो। तर उनीहरू भाग्न खोजेपछि प्रहरीले पछ्याएको थियो।

भाग्ने क्रममा मोटरसाइकलबाट लडेका ती युवाहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले एक राउण्ड हवाई फायर गर्दै थप दुई राउण्ड गोली चलाएको थियो, जस क्रममा विशाल यादव घाइते भएका हुन्।

घटनापछि प्रहरीले घाइते यादवसहित भारत महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूले प्रयोग गरेको मोटरसाइकल जाँच गर्दा फेनारगन, डाइजेपाम र ब्रुफिनका ११००/११०० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।