बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

पर्सा मालपोतमा झण्डै ३ करोड राजस्व हिनामिना, ८ जनाविरुद्ध मुद्दा दायर

बिहिबार, चैत्र १९ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्सामा आर्थिक वर्ष २०७०/७१ मा भएको राजस्व हिनामिनासम्बन्धी प्रकरणमा बुधबार विशेष अदालत काठमाडौं मा आरोपपत्र दायर गरेको छ।

आयोगले तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार मालपोत कार्यालयको रजिष्ट्रेशन फाँट “ग” मा उठेको राजस्व नियमित रूपमा अभिलेखमा नबाँधिने, प्राप्त रकम बैंकमा दाखिला नगर्ने तथा राजस्व हिनामिना भएको उजुरीपछि अनुसन्धान गरिएको थियो।

अनुसन्धानबाट एकै रजिष्ट्रेशन नम्बर प्रयोग गरी एकभन्दा बढी लिखत पारित गरिएको, कम रकम भएका लिखत मात्र बैंकमा दाखिला गरिएको र बढी रकम भएका लिखतको राजस्व लुकाइएको पाइएको छ। यसरी सम्बन्धित कर्मचारीहरूले मिलेमतोमा राजस्व हिनामिना गरेको निष्कर्ष निकालिएको छ।

यस प्रकरणमा रजिष्ट्रेशन दस्तुरबापत उठेको रु. २ करोड ९३ लाख ६८ हजार ५६५ बराबरको राजस्व हिनामिना भएको ठहर गरिएको आयोगले जनाएको छ।

साथै, तत्कालीन नायब सुब्बा स्वर्गीय किरानाप्रसाद उपाध्यायको हकमा उनका अंशियार छोराहरू राजकिशोरप्रसाद, गौतमप्रसाद, पशुपतिप्रसाद र मुरारीप्रसाद उपाध्यायलाई समेत प्रतिवादी बनाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

आयोगले संलग्न सबैमाथि प्रचलित कानुनअनुसार कारबाहीको माग गर्दै अदालतमा मुद्दा दायर गरेको जनाएको छ।