शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

शुक्रबार, चैत्र ६ २०८२

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा तथा लिशङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका छन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार उनीहरू चाइना साउदर्न एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट चीनको ग्वाङझाउ जान लागेका थिए । अन्तरराष्ट्रिय प्रस्थानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी तथा ब्यागेज स्क्रिनिङ गर्ने क्रममा उनीहरूले अवैध रूपमा अमेरिकी डलर बाहिर लैजान खोजेको भेटिएपछि पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार अनिता लामाको साथबाट १० हजार, सङ्गीता लामाको साथबाट १० हजार र विनोद लामाको साथबाट ८ हजार ९०० अमेरिकी डलर बरामद गरी कुल २८ हजार ९०० डलर जफत गरिएको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको जनाइएको छ ।