धनगढी । बाजुरा जिल्ला को स्वामीकार्तिक गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढा को हत्या भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुढाको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको हो। प्रदेश प्रहरी कार्यालय धनगढी का प्रवक्ता पदमबहादुर विष्ट ले स्थानीय धनबहादुर महतरा र उनका छोरा हेमराज महतरा ले कुटपिट गरी हत्या गरेको जानकारी दिए।
घटनामा गम्भीर घाइते भएका बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। वडाध्यक्ष विष्णुबहादुर बुढा ले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोट बाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामी को नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनामा संलग्न आरोपित धनबहादुरलाई नियन्त्रणमा लिएको छ भने उनका छोरा हेमराज महतरा फरार रहेका छन्। फरार अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।