बागमती । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच भएको झडपमा एक प्रहरीसहित दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीमाथि गएराति लागुऔषध सेवनकर्ताले आक्रमण गरेका थिए। सो क्रममा प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि बञ्चरो प्रहार हुँदा उनी घाइते भएका छन्।
प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएको प्रहरीले जनाएको छ।
दुवै घाइतेको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई पक्राउ गरी थप अनुसन्धान थालेको जनाएको छ।