बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएपछि श्रीलङ्कामा पेट्रोल–डिजेलको मूल्य वृद्धि

बुधबार, फाल्गुन २७ २०८२

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव बढेपछि श्रीलङ्काले इन्धनको खुद्रा मूल्य वृद्धि गरेको छ।

सरकारी स्वामित्वको सिलोन पेट्रोलियम निगमका अनुसार सोमबार मध्यरातदेखि लागू हुने गरी इन्धनको नयाँ मूल्य निर्धारण गरिएको हो।

नयाँ समायोजनअनुसार अटो डिजेलको मूल्य प्रतिलिटर २२ रुपैयाँले बढेर ३०३ रुपैयाँ पुगेको छ भने सुपर डिजेलको मूल्य २४ रुपैयाँले बढेर प्रतिलिटर ३५३ रुपैयाँ कायम गरिएको छ। त्यस्तै ९२ अक्तेन पेट्रोलको मूल्य २४ रुपैयाँले बढेर प्रतिलिटर ३१७ रुपैयाँ पुगेको छ भने ९५ अक्तेन पेट्रोलको मूल्य २५ रुपैयाँले वृद्धि भई प्रतिलिटर ३६५ रुपैयाँ निर्धारण गरिएको छ। मट्टीतेलको मूल्य पनि प्रतिलिटर १३ रुपैयाँले बढाएर १९५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

सिलोन पेट्रोलियम निगमका अधिकारीहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा देखिएको अनिश्चितता र निरन्तर उतारचढावका कारण आन्तरिक बजारमा मूल्य समायोजन गर्नुपरेको बताएका छन्। मध्यपूर्वमा जारी द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा प्रभाव पारेकाले धेरै देशमा इन्धन मूल्यमा दबाब बढिरहेको उनीहरूको भनाइ छ।

निगमले देशको ऊर्जा आवश्यकतालाई ध्यानमा राख्दै आगामी महिनाहरूका लागि पर्याप्त इन्धन आपूर्ति सुनिश्चित गर्न आवश्यक कदम चालिएको जनाएको छ। राष्ट्रिय आवश्यकताअनुसार आगामी साउन महिनासम्म पुग्ने इन्धन आपूर्तिका लागि आवश्यक अर्डर दिइसकिएको र दीर्घकालीन आपूर्ति सुनिश्चित गर्न अन्तर्राष्ट्रिय टेन्डर प्रक्रियामार्फत इन्धन खरिदको व्यवस्था गरिएको निगमले जनाएको छ।