काठमाडौँ, २७ फागुन । प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नियमित गस्तीमा खटिएको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम रहेका छन्।
यसैगरी चितवनको भरतपुर महानगरपालिका–१८ लाहुरेचोकबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित भरतपुर महानगरपालिका–२३ का २९ वर्षीय सोम पाण्डेलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई मङ्गलबार पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।