बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मंगलबार, फाल्गुन २६ २०८२

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशभर साधारणतया बदली रहनेछ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र लुम्बिनीको तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।