काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
२१ फागुनमा भएको मतदानपछि उक्त क्षेत्रमा मतगणना सम्पन्न भइसकेको भए पनि आयोगले हालसम्म आधिकारिक रूपमा परिणाम सार्वजनिक गरेको छैन। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिसकेको थियो। तर मतपत्रमा रास्वपाको चुनाव चिह्नमा बहुमत मत परेको देखिएको बताइएको छ।
उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन हुँदा नेकपाका उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित हुनुपर्ने भए पनि आयोग मौन बसेको भन्दै नेकपाले आपत्ति जनाएको हो।
पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा धनुषा–१ मा आफ्ना उम्मेदवार यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेको अवस्थामा पनि आयोगले प्रमाणपत्र नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा निर्वाचन आयोगले २०८२ फागुन १८ गते बसेको बैठकबाट निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना सकिँदासमेत विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिइनु गम्भीर सरोकारको विषय भएको बताइएको छ।
नेकपाले आफ्ना उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि प्रमाणपत्र दिन आलटाल गर्नु तथा निर्वाचन प्रक्रिया र स्थापित विधिविपरीतका गतिविधि हुनु चिन्ताजनक भएको जनाएको छ। पार्टीले कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित कारण देखाएर प्रमाणपत्र वितरण नगर्नु उचित नदेखिने उल्लेख गरेको छ।
साथै नेकपाले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्दै कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको छ। न्यायालयले पनि कानुन र विधिअनुसार सही निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ।
रास्वपा उम्मेदवार किशोरी साह कमललाई बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको प्रमाणित भएपछि आयोगको फागुन १८ गतेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।