जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। शुक्रबार बिहान सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणना प्रक्रिया अगाडि बढाइएको हो।
मुख्य निर्वाचन अधिकृत दामोदर रेग्मीका अनुसार बिहीबार सम्पन्न मतदानपछि सर्वदलीय सहमतिमा मतगणना सुरु गरिएको हो। उनका अनुसार औरही गाउँपालिका का सबै मत एकै साथ गणना गर्ने सहमति भएपछि प्रक्रिया अघि बढाइएको हो।
मतगणना श्री जनता नमूना माध्यमिक विद्यालय गिद्वाबेलापट्टि स्थित हलमा भइरहेको छ। मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ भने सुरक्षा व्यवस्थासमेत कडा पारिएको निर्वाचन कार्यालयले जनाएको छ।
हाल मतगणनास्थलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवारका प्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थितिमा मतगणना जारी रहेको छ। प्रारम्भिक नतिजा केही समयमै सार्वजनिक हुने अपेक्षा गरिएको छ।