काठमाडौँ । बिहीवार देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन आयोग ले तोकेका मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जनाएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ। निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भएमा सोही प्रयोग गर्नुपर्नेछ।
मतदाता परिचयपत्र नभएको अवस्थामा निम्नमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छः
आयोगले मतदातालाई मतदानअघि आफ्नै मतदान केन्द्र सुनिश्चित गर्न र तोकिएको समयमा उपस्थित हुन आग्रह गरेको छ। मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ र मतदाताले पालोअनुसार मतदान गर्नुपर्नेछ।
शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैँले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूका लागि विशेष सहजीकरणको व्यवस्था गरिएको आयोगले जनाएको छ। यस्ता मतदाताले लाइनमा बस्न नपर्ने गरी छुट्टै व्यवस्था मिलाइएको छ भने मतदान अधिकृत, सहायक मतदान अधिकृत, खटिएका कर्मचारी वा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन्।
आयोगले खटिएका कर्मचारीहरूलाई विशेष आवश्यकता भएका मतदातालाई सहज, सुरक्षित र सम्मानजनक वातावरणमा मतदान गराउने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।