काठमाडौं । नेपालीहरूको हर्षोल्लासको पर्व होली आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर सुरु भएको छ। फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि उत्साह र उमङ्गका साथ मनाइँदैछ।
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा होली खेल्नका लागि बिहानैदेखि सर्वसाधारणको उपस्थिति बढ्न थालेको छ। वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा युवायुवती तथा बालबालिकाको चहलपहल देखिएको छ।
वसन्तपुर दरबार क्षेत्रमा एक साताअघि ठड्याइएको चीर वरिपरि पूजा गर्ने तथा अवलोकन गर्नेहरूको समेत भीड लागेको छ। चीर ठड्याएर सुरु गरिएको होली पर्व पूर्णिमाको दिन विशेष रूपमा मनाउने परम्परा रहेको छ।
आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलिँदैछ भने तराईका जिल्लामा भोलि होली मनाउने चलन छ। असत्यमाथि सत्यको विजयको प्रतीक तथा पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा होली मनाउने प्रचलन रहिआएको छ।
एकअर्काबीच रङ तथा अबिर दलेर शुभकामना आदानप्रदान गर्दै होली मनाइँदैछ। काठमाडौंका विभिन्न स्थानमा यतिबेला होलीको रौनक छाएको छ।