शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

निर्वाचन देश जलाउने र बनाउने शक्तिबीचको जनमत सङ्ग्रह : अध्यक्ष ओली

सोमबार, फाल्गुन १८ २०८२

झापा । केपी शर्मा ओलीले आगामी निर्वाचन देश जलाउने र देश बनाउने शक्तिहरूबीचको जनमत सङ्ग्रह भएको बताएका छन्।

झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदातासँगको कुराकानीका क्रममा उनले निर्वाचनले देशलाई समृद्धिको दिशामा अघि बढाउने उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिए। उनले निर्वाचनलाई केवल प्रतिनिधि छान्ने प्रक्रिया नभई राष्ट्रको भविष्य निर्धारण गर्ने निर्णायक अवसरका रूपमा चित्रण गरे ।

अध्यक्ष ओलीले नेकपा एमाले बच्चादेखि ज्येष्ठ नागरिकसम्मको हितमा काम गर्ने पार्टी भएको दाबी गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा एमालेको स्पष्ट दृष्टिकोण र योजना रहेको बताए। सुशासन कायम गर्ने, शान्ति सुरक्षा सुदृढ गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता पनि उनले दोहोर्‍याए ।

“आज देश जलाउने र देश बनाउनेका बीचमा यो जनमत सङ्ग्रह हो। हामीले देश बनाउनुपर्ने छ, सुशासन ल्याउनुपर्ने छ, शान्ति सुव्यवस्था कायम गर्नुपर्ने छ र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने छ,” उनले भने। विभिन्न प्रकारका ठगी र भ्रष्टाचारका काण्डमा संलग्नमाथि कारबाही गर्दै जनतालाई सुविधा दिने र तीव्र गतिमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

सुशासन र समृद्धिका लागि एमालेको जित अनिवार्य रहेको उनले जिकिर गरे ।