बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

उम्मेदवारी स्थगित गर्दै ईश्वर पोखरेललाई समर्थन

आइतबार, फाल्गुन १७ २०८२

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा ‘मोबाइल’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएकी कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै ईश्वर पोखरेललाई समर्थन गर्ने घोषणा गरेकी छन्।

शुक्रबार आयोजित कार्यक्रममा एमालेका उम्मेदवार पोखरेलको उपस्थितिमा पौडेलले औपचारिक रूपमा समर्थन जनाएकी हुन्। उनले राष्ट्रिय स्वाधीनताको रक्षा र जनसमस्याको सम्बोधन हुने अपेक्षासहित पोखरेललाई समर्थन गरेको बताइन्।

आम जनता पार्टीबाट उम्मेदवारी दिएकी पौडेलले देश र जनताको हितका लागि देशभर एमाले उम्मेदवारहरूसँग सहकार्य गर्नुपर्ने धारणा राखिन्। उनले सुरक्षित, समृद्ध र बलियो राष्ट्र निर्माणका लागि एकताबद्ध हुन आह्वान पनि गरिन्। काठमाडौं–५ मा उनले करिब ३ हजार मत पोखरेलको पक्षमा तान्न सक्ने अनुमान गरिएको छ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार पोखरेलले मुलुकको लोकतान्त्रिक तथा संवैधानिक प्रक्रिया “लिगबाट बाहिर” रहेको दाबी गर्दै त्यसलाई सही मार्गमा ल्याउन आगामी निर्वाचन महत्वपूर्ण अवसर भएको बताए। उनले निर्वाचनलाई देश बनाउने र देश बिगार्ने शक्तिबीचको जनमत संग्रहका रूपमा व्याख्या गरे।

पोखरेलले केही शक्तिहरूले देशलाई अस्तव्यस्त बनाउँदै लाभ लिन खोजेको आरोप लगाउँदै एमाले देश निर्माणको पक्षमा उभिएको दाबी गरे। आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाएर मुलुक रूपान्तरणको अभियानमा साथ दिन उनले मतदातासमक्ष आग्रह गरे।

देशभन्दा ठूलो कुरा केही नभएको उल्लेख गर्दै उनले राष्ट्रहित विपरीत गतिविधिविरुद्ध देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए।