काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता विष्णु रिजालले देशको भविष्यमाथि खेलवाड नगर्न सबैलाई आग्रह गरेका छन्। उनले ‘निरपेक्ष नयाँ र पुराना’ भन्ने भाष्यलाई असैद्धान्तिक र अराजनीतिक टिप्पणी भन्दै गम्भीर भएर सोच्न आह्वान गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रिजालले लोकतन्त्रमा पार्टी खोल्ने, चुनाव लड्ने र जित्ने स्वतन्त्रता सबैलाई हुने बताए। तर, अरूलाई ‘पुराना’ भन्नेहरू आफैं समयसँगै पुराना बन्दै जाने तर्क गर्दै उनले यस्तो बहस सतही र दिशाहीन भएको उल्लेख गरे।
उनले देश पुरानो भयो भनेर बदल्न नसकिने र बा–आमा पुराना भए भनेर अपमान गर्न नसकिने उदाहरण दिँदै राजनीतिक दललाई पनि केवल ‘पुराना’ भन्दै अस्वीकार गर्न नहुने धारणा राखे। यद्यपि, प्रत्येक दलले समयअनुसार आफूलाई अद्यावधिक गर्दै नयाँ पुस्ताको भावना र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
रिजालले प्यास लाग्यो भन्दैमा फोहोर पानी पिउँदा स्वास्थ्यमा असर पर्ने उदाहरण दिँदै भावनामा बहकिएर निर्णय नगर्न आग्रह गरे। “ख्याल गरौँ– देशको भविष्यमाथि खेलबाड नगरौँ,” उनले भनेका छन्।