सङ्खुवासभा । यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने अरुण नदीमाथि निर्माण गरिएको बेलीब्रिज भाँचिएको छ। मकालु–५ को नुम र वडा नं. २ सेदुवा जोड्ने पुल आज बिहान करिब ९ः०० बजे सिमेन्ट बोकेको लोबेड (लावेट) ट्रक तार्ने क्रममा भाँचिएको हो।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा का प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार ठूला सवारीसाधन तार्ने क्रममा पुल गाडीसहित भाँचिएको हो।
पुल भाँचिँदा नुम–सेदुवा सडकखण्डको भित्री सडकमा प्रदेश–०३–००१ क २९२० नम्बरको ट्रक अरुण नदी मा खसेको छ। दुर्घटनामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन्।
घाइते चालकको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपछि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। निर्माणाधीन कासुवा हाइड्रोपावर कम्पनीका लागि सामग्री बोकेको ट्रक पुल भाँचिएसँगै नदीमा खसेको हो।
बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यस मार्ग हुँदै मकालु बेसक्याम्प जानेआउने गरिन्छ। पुल भत्किँदा स्थानीय बासिन्दा, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ।
पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र विशेषगरी कासुवा हाइड्रोपावरसँग मर्मतसम्भारबारे छलफल जारी रहेको प्रहरीले जनाएको छ।