काठमाडौं । गगनकुमार थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्रता दिएको छ। सभापति थापाले आज मधेश प्रदेशका चार जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
आजको पहिलो कार्यक्रम सर्लाहीको ईश्वरपुरमा हुनेछ। त्यसपछि उनी लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्ज पुगेर चुनावी सभालाई सम्बोधन गर्नेछन्। सो क्रममा विभिन्न स्थानमा आयोजना गरिने रोड शोमा पनि उनी सहभागी हुने सभापति थापाको सचिवालयले जनाएको छ।
यसअघि फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका सभापति थापाले फागुन ७ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा प्रतिज्ञापत्रमाथि छलफल गर्दै उठेका प्रश्नहरूको जवाफ दिएका थिए।
त्यसैगरी, उनले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए भने शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा आयोजित कार्यक्रममा सहभागिता जनाएका थिए।
बुटवलमा आयोजित सभामा उपसभापति पुष्पा भुषाल गौतम सहभागी थिइन् भने पोखराको कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा उपस्थित थिए।
शनिबार सभापति थापा एक्लै मधेश दौडमा रहनेछन् भने आइतबार फागुन १७ गते काठमाडौं उपत्यकामा हुने कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुने जनाइएको छ।