शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

चितवनमा चुनावी सरगर्मी बढ्दो : भोलिदेखि थप प्रचारमा उम्मेदवार

आइतबार, फाल्गुन ३ २०८२

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवनका राजनीतिक दल र उम्मेदवार मतदाता भेटघाटमा व्यस्त बनेका छन्। दलहरूले भोलि (सोमबार)देखि घरदैलो, कोणसभा र आमसभामार्फत प्रचारप्रसारलाई थप तीव्र बनाउने आन्तरिक तयारी गरेका छन्।

स्थानीय मुद्दालाई प्राथमिकतामा राख्दै सबै दलले टोल तहसम्म प्रचार अभियान विस्तार गर्ने योजना बनाएका छन्। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा वडा र टोलस्तरबाटै मतदातालाई आकर्षित गर्ने रणनीति तयार भइरहेको दलहरूको भनाइ छ।

दलहरूको तयारी

नेपाली कांग्रेस चितवनका जिल्ला सचिव ध्रुव पोखरेलका अनुसार तीनवटै क्षेत्रमा प्रचार कार्यालय सञ्चालन गरी विधिवत् घरदैलो कार्यक्रम सुरु गरिनेछ। केन्द्रीय सभापति गगन थापा र प्रचार संयोजक देवराज चालिसेसँग समन्वय गरी बृहत् सभा गर्ने तयारीसमेत गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका इन्चार्ज देवी ज्ञवालीले वडा तहमा घरदैलो र कोणसभा सञ्चालन गरिने जानकारी दिएका छन्। केन्द्रीय नेताहरूको सम्बोधनसहित कार्यक्रम तय गर्ने सम्भावना रहेको उनले बताए।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चितवनका संयोजक रामचन्द्र अधिकारीले सोमबारबाटै घरदैलो र सभाको तालिका सार्वजनिक गरिने बताए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतमले पनि प्रचार तीव्र पार्दै केन्द्रीय नेताको उपस्थितिमा बृहत् सभा गर्ने तयारी भइरहेको जानकारी दिए।

यसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत अन्य दल तथा स्वतन्त्र उम्मेदवारले पनि प्रचार अभियानलाई तीव्र बनाउने तयारी गरेका छन्।

मतदाता र मतदान केन्द्र

जिल्ला निर्वाचन कार्यालयका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि चितवनमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्। जसमध्ये दुई लाख १७ हजार ३१४ पुरुष, दुई लाख २४ हजार ७६६ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता छन्।

मतदानका लागि १६२ मतदानस्थल र ४९४ मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिसभा निर्वाचन २०७९को तुलनामा यसपटक ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ मतदान केन्द्र वृद्धि भएको जनाइएको छ।

निर्वाचन मिति नजिकिँदै जाँदा चितवनमा चुनावी माहोल थप तातेको छ। दलहरू स्थानीय मुद्दा, विकासका प्रतिबद्धता र प्रत्यक्ष संवादमार्फत मतदाता रिझाउने रणनीतिमा केन्द्रित देखिएका छन्।